संगालोखबर


विराटनगर । भिडियो भाइरल भएपछि विराटनगरबाट पक्राउ परेका दुई युवक छुटेका छन् । विराटनगर-४ का ३५ वर्षीय महेश कुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका-१ घर भई हाल विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद छुटेका हुन् ।

स्कुल ड्रेसमा रहेका छात्राहरूमाथि दुर्व्यवहार भएको भन्दै भाइरल भएको भिडियोका आधारमा मोरङ प्रहरीले उनीहरूलाई भदौ १९ गते शुक्रबार पक्राउ गरेको थियो ।

तर भिडियोमा भनेजसरि उनीहरूले दुर्व्यवहार गरेको नपाइएपछि प्रहरीले परिवारको जिम्मा लगाएको छ । बुधबार दिउँसो विराटनगरको महेन्द्र चोकमा युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै उमेश गजुरेलले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए ।

त्यसपछि अन्य व्यक्तिहरूले पनि युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै कारबाहीको मागसहित धमाधम भिडियो पोष्ट गरे । तर भिडियोमा देखिएका युवतीहरूले आफूहरूमाथि दुर्व्यवहार नभएको बताए ।

दुई युवकलाई पक्राउ परेको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएका थिए । उनीहरूलाई फसाउने नियतले पक्राउ गरिएको भन्दै मोरङ प्रहरीको आलोचना समेत भयो । युवतीहरूले आफूहरूमाथि दुर्व्यवहार भएको भनेर प्रहरीमा कुनै उजुरी समेत दिएका थिएनन् ।

उनीहरूलाई आइतबार नै हिरासतमुक्त गरेर परिवारको जिम्मा लगाइएपनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ‘आइतबार नै हामीले परिवारको जिम्मा लगाएका हौँ’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘हिरासतमुक्त मात्र गरिएको हो । अनुसन्धान सकिएको छैन ।’

उनीहरूलाई हिरासतभन्दा बाहिर राखेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!