मोहन ढकाल/संगालोखबर


विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारका १९ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिने भएको छ । आज अपरान्ह कारागारको ‘बी’ ब्लकमा कैदीबन्दीबीच कुटाकुट हुँदा कारागारको अवस्था तनावपूर्ण बनेपछि चौकीदार विशाल निरौलासहित १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ ।

कैदीबन्दीबीच कुटाकुट हुन थालेपछी प्रशासनले हस्तक्षेप गरेर उनीहरूलाई बाहिर निकालेको हो । अहिले अवस्था सामान्य भइसकेको कारागार प्रशासक राजन घिमिरेले जानकारी दिए ।

‘अहिले कारागारको अवस्था सामान्य भइसकेको छ । ‘बी’ ब्लक कब्जा गर्ने १९ जना कैदीबन्दीलाई बाहिर निकालिसकेपछि अवस्था सामान्य भएको हो’, उनले संगालोखबरसँग भने, ‘एक महिना अघिदेखि नै उनीहरूले ‘बी’ ब्लक कब्जा गरेका थिए ।’

घिमिरेका अनुसार उनीहरूले अन्य कैदीबन्दीलाई अमानवीय व्यवहार गर्दै आएका थिए । ‘अन्य कैदीबन्दीमाथि उनीहरूले अमानवीय व्यवहारसँगै कुटपिट समेत गर्दै आएका थिए’, घिमिरेले भने, ‘१९ जनामध्ये एक जनालाई सामान्य चोटपटक लागेकाले अस्पताल लगिएको छ । अन्य १८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’

उनीहरूलाई कहाँ पठाउने भन्ने निर्णय हुन बाँकी छ । जिल्ला प्रशासन कार्यालय मोरङ र कारागार विभागको समन्वयमा उनीहरूलाई कहाँ-कहाँ स्थानान्तरण गर्ने भन्ने तय हुने उनले बताए ।

‘उनीहरू कारागारको छत-छतमा घुमिरहन्थे । छतमा माइक राखेर नाराजुलुस गर्थे’, उनले थपे, ‘१९ जनालाई बाहिर निकालिएपछि अन्य कैदीबन्दीले छतबाट माइकहरू पनि निकालिसकेका छन् । अहिले अवस्था सामान्य भइसकेको छ ।’

बाहिर निकालिएका १९ जना नै अभिषेक गिरीसँग जोडिएका व्यक्ति भएको कारागार श्रोतले बताएको छ । ‘यो घटना अलिक अगाडिबाट नै जोडिन्छ । उनीहरू अभिषेक गिरीसँग निकट व्यक्तिहरू हुन्’, कारागार श्रोतले भन्यो, ‘उनीहरूले कारागार कब्जा गरेर अन्य कैदीलाई कुटपिट गर्ने, दुःख दिने गर्दै आएका थिए ।’

उनीहरूलाई अब मोरङ कारागारमा राख्न सक्ने अवस्था नरहेको घिमिरेले जानकारी दिए । अब कारागारभित्र प्रवेश गरेर सहजै अनुगमन गर्ने वातावरण बनिसकेको उनले बताए । प्रशासनले यसअघि देखि नै उनीहरूलाई बाहिर निकाल्ने प्रयास गर्दै आएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!