संगालोखबर


धनकुटा । नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापन दिवसको अवसरमा जिल्ला अस्पताल धनकुटामा आकस्मिक रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ । 

जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटी धनकुटाले संयुक्तरूपमा ब्लड बैंक स्थापना गरेका हुन् । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले आज रिबन काटेर आकस्मिक रक्त सञ्चार सेवा केन्द्रको उद्‌घाटन गरे ।

उद्‌घाटन समारोहमा बोल्दै मन्त्री पराजुलीले रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजे छुट्याइएको बताए ।

‘रक्त सञ्चार सेवा सञ्चालन भएपछि धनकुटा मात्र नभएर तेह्रथुम, भोजपुर र संखुवासभाका नागरिकलाई सहज हुनेछ’, मन्त्री पराजुलीले भने, ‘जिल्ला अस्पताललाई कसरी राम्रो र प्रभावकारी बनाउन सकिन्छ । त्यसतर्फ आफू लागि परिरहेको छु । त्यसका लागि जिल्लावासीको साथ आवश्यक छ ।’

रेडक्रसले आफ्नो स्थापना दिवसमा धनकुटा जिल्ला अस्पतालमा रक्तदान गरिरहेको छ । रक्त सञ्चार सेवा सञ्चालनका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ ।

जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालनमा आएसँगै आजैबाट सेवा लिन सकिने रेडक्रस धनकुटाका सभापति छत्रबहादुर श्रेष्ठले बताए । ‘कर्मचारी व्यवस्थापनमा भने केही समस्या छ’, उनले भने, ‘जिल्लाका सातवटै पालिकासँग आवश्यक छलफल तथा समन्वय गरेर व्यवस्थापन गर्ने तयारीमा छौँ ।’

रक्त सञ्चार सेवा २४ सै घण्टा सञ्चालन गर्न ३ जना कर्मचारी आवश्यक पर्ने उनले बताए । यस्तै रेडक्रसले नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीलाई विपद्का बेला आवश्यक पर्ने सामग्री दुई/दुई थान वितरण गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!