
रामेछाप । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा भ्रम फैलाएर ठगी गर्ने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ ठोसेका ३२ वर्षीय भगवान कार्की छन् । रामेछाप प्रहरीका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
तर, अनुसन्धानका क्रममा उनले सो रकम सहयोग नगरेको र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी ई-सेवाको नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार पारेको खुलेको छ ।
उनले सो नक्कली स्टेटमेन्टसँगै आफ्नो व्यक्तिगत क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै ठगी धन्दा चलाइरहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 














