
छायो हे ऋतुराज यो वसन्त जगमा उल्लास छायो यहाँ,
बोलीले कुहुको रमेर वनमा सङ्गीत गायो यहाँ
फुल्दा त्यो पहरा गुराँस वनमा सौन्दर्य हाँस्यो यहाँ,
बस्ता त्यो ढुकुरी रमेर सँगमा संसार बस्यो यहाँ
स्पर्शैले मृदु त्यो समीर वनमा आनन्द छायो यहाँ,
मायाका मुटुमा फुटेर झरना झङ्कार बज्यो यहाँ
देख्दा त्यो ऋतुराज लजाइ वनमा सङ्कोच छायो यहाँ,
घन्क्यो त्यो मुरली बजेर वनमा स्वर्गै त लाग्यो यहाँ
हाँगामा तरुको नयाँ र जगमा शोभा त छायो यहाँ,
डुल्दैछन् भमरा रमेर कुसुमे झङ्कार गुन्ज्यो यहाँ
टल्किन्छन् हिमका चुली र शिखरे सौन्दर्य चम्क्यो यहाँ,
मोतीझैँ कणिका सबेर थलमा आनन्द थप्यो यहाँ
हेर्दैमा पहरा रमेर वनमा रङ्गीन बन्यो यहाँ,
साँचो त्यो मुटुको मिठास उमरी सङ्गीत बज्यो यहाँ
नाच्दैछन् चरिका रमेर विटपे आनन्द थप्यो यहाँ,
धर्ती यो सहजै वसन्त सुखमा स्वर्गै त बन्यो यहाँ
बास्नाले कुसुमी भरेर पवने सम्मोह छायो यहाँ,
एकान्तै वनमा बजेर मुरली सङ्गीत गुन्ज्यो यहाँ
प्रेमी त्यो युगले रमेर सँगमा आनन्द पायो यहाँ,
आयो यो ऋतुराज पावन जगमा सौभाग्य ल्यायो यहाँ
निश्चल पोख्रेल, तेह्रथुम















