
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका कराते खेलाडीहरूलाई बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ । हरेक तीन महिनाको प्रशिक्षण पछि हुने ग्रेडिङ अनुसार आज ३० जना विद्यार्थी खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको हो ।
विद्यालयका कराते प्रशिक्षक तथा राष्ट्रिय खेलाडी एवम् राष्ट्रिय प्रशिक्षक विवेक थापाका अनुसार सात जना खेलाडीलाई ग्रीन बेल्ट र प्रमाण पत्र प्रदान गरिएको छ ।
यस्तै २३ जना विद्यार्थीलाई ओरेन्ज बेल्ट र प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले कराते व्यक्ति स्वयंको लागि समेत आवश्यकता रहेको चर्चा गर्दै आत्मरक्षा महत्वपूर्ण हुने बताए ।
उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पनि खेलकुद आवश्यक रहेको उल्लेख गर्दै एभरेष्टमा विभिन्न खेलकुदका गतिविधिलाई अघि बढाउन अनुभवी र दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराउँदै आएको उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कराते महासंघका केन्द्रीय सदस्य धर्म न्यौपानेले खेलकुदले अनुशासन सिकाउने, सामुहिकताको विकास गराउने र व्यक्तिको स्वास्थ्यलाई समेत सकारात्मक प्रभाव पार्ने बताए ।

संगालोखबर 












