
इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई भवितव्यबाट बनेको सरकारको संज्ञा दिएका छन् ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि टिप्पणी गर्दै यस्तो बताएका हुन् ।
सरकार गठनको प्रसङ्गलाई एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गर्दै उनले मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको बताए ।
अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको उल्लेख गरे । आफूलगायत नेपाली काँग्रेसका नेता रमेश लेखक र अन्य नेताहरूलाई विभिन्न समयमा पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने कोसिस भइरहेको उनको भनाइ छ ।
सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरीत विभिन्न क्षेत्रमाथि अङ्कुश लगाउन खोजेको उनको टिप्पणी छ । सरकारका यस्ता गतिविधिका बाबजुद विचलित नहुन आग्रह गर्दै उनले देशको हित र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

संगालोखबर 











