संगालोखबर


विराटनगर । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई नेपालमै रोक्न स्वदेशको श्रम बजारलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाउनुपर्ने बताएका छन् ।

श्रम तथा रोजगार कार्यालय मोरङको नवनिर्मित भवन उद्‌घाटन गर्दै मन्त्री यादवले युवालाई नेपालमै रोजगारी खोज्न आग्रह गरेर मात्रै नपुग्ने भन्दै उनीहरूले आफ्नो भविष्य स्वदेशमै देख्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

मन्त्री यादवले बदलिँदो श्रम बजारको माग र श्रमिकको आकांक्षालाई सम्बोधन गर्ने गरी पहिलोपटक श्रम नीति निर्माणको काम अघि बढाइएको तथा श्रम ऐन संशोधनको प्रक्रिया पनि अघि बढिरहेको बताए ।

सरकारले चालु वर्षलाई ‘रोजगार प्रवर्द्धन दशक’ का रूपमा अघि बढाउँदै स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा जोड्ने लक्ष्य लिएको उनको भनाइ छ ।

कृषि, पर्यटन, हरित रोजगारी तथा केयर सेवाजस्ता क्षेत्रमा रोजगारीका कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै मन्त्री यादवले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रभावकारी समन्वयका लागि ‘श्रम संसार’ प्रणालीलाई समेत स्तरोन्नति गरिएको बताए ।

विराटनगर-३ मदन नगरमा ५ करोड ३६ लाखमा निर्माण गरिएको भवनको आज उद्‌घाटन गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!