संगालोखबर

विराटनगर । विराटनगरमा सञ्चालित ७ वटा आँखा अस्पतालमा सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनका क्रममा न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएपछि सिलबन्दी गरिएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले हिजो र आज दुई दिन आँखा अस्पतालको लगाएर अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा विराटनगर-१५ रानीमा सञ्चालित अखण्ड ज्योति आँखा अस्पताल, विराटनगर-१३ को हिमाल आँखा अस्पताल र  नेपाल आँखा अस्पतालमा सिलबन्दी गरिएको हो । 

यस्तै विराटनगर-१० को सञ्जीवनी आँखा अस्पताल, विराटनगर-१५ को इफराह आँखा अस्पताल र विराटनगर-९ को विराट रानी आँखा अस्पतालमा सिलबन्दी गरिएको छ । 

प्रशासनका अनुसार मापदण्ड नपुगेको भन्दै विराटनगर-१४ को विराट आँखा अस्पतालको ल्याबमा पनि सिलबन्दी गरिएको छ ।

अनुगमनका क्रममा ६ वटा अस्पताल र एउटा अस्पतालको ल्याबले कानुनी प्रक्रिया र प्राविधिक मापदण्ड मिचेर सेवा दिइरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

नियमअनुसार आँखा अस्पताल सञ्चालनका लागि कम्तीमा १०० शय्या हुनुपर्ने प्रावधान छ । तर सिलबन्दी गरिएका अस्पतालहरूले कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट आँखा उपचार केन्द्रका रूपमा मात्र स्वीकृति लिएर जटिल किसिमका शल्यक्रिया गर्ने गरिएको भेटिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!