
धनकुटा । पहाडलाई तराईसँग जोड्ने अरुण करिडोर निर्माणको कामले तीव्रता पाएको छ । तराईबाट धनकुटा हुँदै भोजपुर र संखुवासभा जोड्ने ६५ किलोमिटर सडक निर्माणको कामले तीव्रता पाएको हो ।
सुनसरीको चतरास्थित कोशी पुलदेखि धनकुटाको सहिदभूमि गाउँपालिका र पाख्रिबास नगरपालिकास्थित माङ्माया डाँडासम्म सडक निर्माण भइरहेको छ । आयोजना अन्तर्गत ४५ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको हो ।
ठेक्का सम्झौता भएर निर्माणधीन अवस्थामा रहेको उक्त सडक धनकुटाको सहिदभूमि गाउँपालिका र पाख्रिबास नगरपालिकाभित्र पर्ने करिब ३५ किलोमिटर क्षेत्रमा प्रारम्भिक ट्रयाक खोल्ने काम भएको छ । ट्रयाक खोलिएसँगै सडकलाई १० मिटर चौडाइमा विस्तार गर्ने काम भइरहेको आयोजना प्रमुख मनिषमान शाक्यले बताए ।
उनका अनुसार अरुण करिडोरको करिब २२ किलोमिटरमध्ये १० किलोमिटर सडक तमोर करिडोरसँगै जोडिएर निर्माण हुनेछ । बाँकी सडकखण्ड भित्र पर्ने पुलहरू निर्माण गर्नुपर्ने स्थान र डिजाइन अन्तिम भएपछि काम सुरु गरिने उनले बताए ।

आयोजनाको सबैभन्दा महत्वपूर्ण संरचना साँगुरीगढी र सहिदभूमि गाउँपालिकालाई जोड्ने त्रिवेणीस्थित तमोर नदीमाथिको पक्की पुल रहनेछ । उक्त पुलको स्थान र डिजाइन स्वीकृत भएपछि बाँकी सडक खण्डको निर्माणले गति लिने अपेक्षा गरिएको छ । तमोर नदीसहित ११ स्थानमा मोटरेबल पक्की पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार तमोर, अँधेरी, छाम्लाङ, धुसेनी, मंग्सुवा, सुनाखानी खहरे, लेदे, मुगा र निबुखोला लगायतमा २० देखि ४० मिटर लम्बाइका पुल निर्माण गर्नुपर्ने हुन्छ । तीमध्ये केही पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको छ ।
यो सडक सञ्चालनमा आएपछि भोजपुर, संखुवासभा तथा धनकुटाको महालक्ष्मी र पाख्रीबासका बासिन्दालाई ठूलो राहत मिल्ने छ । अरुण करिडोर निर्माण सम्पन्न भएपछि अहिले प्रयोग हुँदै आएको कोशी राजमार्गको करिब १२५ किलोमिटर यात्रा जम्मा ६५ किलोमिटरमा सीमित हुन्छ ।
निर्माणधीन सडकको बीचमा स्थानीयका घर परेकाले केही स्थानमा ट्रयाक खोल्ने काम प्रभावित भएको छ । यता जिल्ला प्रशासन कार्यालय धनकुटाले सडक निर्माणका क्रममा देखिएका केही समस्याहरू समाधान गर्न साथै समन्वयका लागि सहजीकरण गरिरहेको जनाएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













