संगालोखबर


काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ । आज अर्थ मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उपहार पाउनेहरूको नाम सार्वजनिक गरिएको हो ।

जसमा शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार पाएका छन् । १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ ।

ती उपभोक्ताले साउन ७ गते कञ्चनपुरको पुनर्वास नगरपालिकाको उक्त स्टोरबाट सामान खरिद गरेका थिए । उपहार पाएको रकममा कर कटाएर उपभोक्ताले पाउने छन् ।

अन्य १५ जनाले एक/एक लाख रुपैयाँको उपहार जितेका छन् । एक लाख नगद उपहार पाउनेहरूको परिचय भने खुलाइएको छैन । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ ।

बैंक तथा वालेटको क्युआर मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन् । तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ ।

नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!