संगालोखबर
तस्बिर : एआईकाे सहयाेगमा

काठमाडौं । होटेल तथा रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का तथा चुरोट सेवन गर्ने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नियन्त्रण गर्न कडा कदम चालेको छ ।

सार्वजनिक स्थलहरूमा हुने धूम्रपानले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको जनगुनासो बढेपछि प्रशासनले निगरानी र कारबाहीलाई तीव्र बनाउने भएको हो ।

होटेल, क्याफे र रेस्टुरेन्टहरूमा खुला रूपमा हुक्का र चुरोट पिउँदा धूम्रपान नगर्ने सेवाग्राही, विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको पाइएको छ । प्रशासनले एक सूचना जारी गर्दै कानुनको धज्जी उडाएर भइरहेका यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।

सूचनाअनुसार जिल्लाका सबै होटेल र रेस्टुरेन्टहरूले ‘सुर्तीजन्य पदार्थ ऐन, २०६८’ को अक्षरशः पालना गर्नु पर्नेछ । उक्त ऐनले सार्वजनिक स्थलमा धूम्रपान गर्न निषेध गरेको छ ।

अब उप्रान्त कुनै पनि व्यावसायिक प्रतिष्ठानले खुला ठाउँमा ग्राहकलाई धूम्रपान वा हुक्का सेवन गराउन पाउने छैनन् ।
प्रशासनले धूम्रपानका लागि विशेष व्यवस्था गर्नुपर्ने सर्तहरू अघि सारेको छ ।

होटेल तथा रेस्टुरेन्टहरूले धूम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनु पर्नेछ, धूम्रपानका लागि छुटाइएको स्थान चारैतिरबाट पूर्ण रूपमा बन्द हुनुपर्ने छ र उक्त स्थानबाट निस्कने धुवाँले अन्य ग्राहक वा सार्वजनिक क्षेत्रमा कुनै पनि असर नपुग्ने गरी भेन्टिलेसन वा आधुनिक प्रविधिको व्यवस्थापन गर्नुपर्ने नियम रहेको छ ।

यदि कुनै होटेल वा रेस्टुरेन्टले तोकिएको मापदण्ड विपरीत धूम्रपान वा हुक्का सेवन गराएको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!