
काठमाडौं । नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपी ग्यासको अभाव हुन नदिन कडा निर्देशन दिएपछि क्यूआरटी गठन गरिएको हो ।
ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको छ । क्यूआरटीमा उद्योग मन्त्रालयका तर्फबाट मंगल विष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी, ग्यास उद्योगबाट आयुश नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन् ।
टिमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा एलपी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको छ । निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ ।
उपभोक्ताले ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१-५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् । उक्त नम्बरमा प्राप्त हुने गुनासोमाथि क्यूआरटीले तत्काल आवश्यक पहल गरी समाधान प्रक्रिया अगाडि बढाउने निगमले जनाएको छ ।

संगालोखबर 













