
विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ ।
बागमती र गण्डकी प्रदेशको धेरै स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेश प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज राति देशभर साधारणतया बादल लाग्ने तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
मंगलबार दिउँसो र राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बुधबार दिउँसो र राति कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

संगालोखबर 













