
विराटनगर । विराटनगरको प्रतिष्ठित उद्योगी घराना देबेनरा मुन्दडा निवासमा छापा हान्दा केही फेला नपरेपछि प्रहरी टोली त्यसै फर्किएको छ । विराटनगर-७ गोश्वारा रोडस्थित मुन्दडा निवासमा गैरकानुनी रुपमा अवैध चिजवस्तु लुकाएको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले आज बिहान छापा हानेको हो ।
खानतलासीका लागि बिहान करिब ५ बजे नै प्रहरी टोली मुन्दडा निवास पुगेको थियो । झण्डै ५ घण्टा खानतलासी गर्दा पनि अवैध चिज फेला नपरेपछि बिहान करिब ९ः३० बजे प्रहरी टोली त्यसै रित्तो हात फर्किएको हो । खानतलासीपछि जिल्ला प्रहरी कार्यालय मोरङले प्रेस विज्ञप्ति जारी गर्दै खानतलासीका क्रममा सूचना बमोजिम गैर कानूनी सामान फेला नपरेको उल्लेख गरेको छ ।
यता, मुन्दडा समूहका सञ्चालक वेनी गोपाल मुन्दडाले प्रहरीले कानूनसम्मत खानतलासी गरेको भएपनि त्यस्तो केही फेला नपरेको बताए । सो क्रममा उद्योगी प्रकाश मुन्दडाले खानतलासी गर्दा केही फेला नपरेपछि प्रहरी टोली क्लिन चिट दिएर फर्किएको प्रतिक्रिया दिए ।
खानतलासीका क्रममा प्रहरीले केही समय सो निवास आसपास सवारी आवतजावत नै बन्द गरेको थियो । यसरी के-के न भएजस्तो गरेर प्रहरीले आतङ्क मच्चाउने गरी एउटा प्रतिष्ठित व्यापारिक घरानामा छापा मारेको भन्दै अन्य उद्योगी व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

संगालोखबर 













