
विराटनगर । नेपाल युवा उद्यमी मञ्च विराटनगरका नव निर्वाचित अध्यक्ष रोमन कट्टेलले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेका छन् ।
सुनसरीको देवानगञ्जमा झडपका क्रममा गोली लागेर दुई युवाको मृत्यु भएपछि बढ्दै गएको तनावले अन्य जिल्लामा पनि माहोल बिग्रिरहेका बेला शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनवाइइएफ अध्यक्ष कट्टेलले यस्तो आग्रह गरेका हुन् । देशका विभिन्न स्थानमा देखिएका धार्मिक विवाद तथा तनावप्रति विज्ञप्तिमा गम्भीर चासो व्यक्त गरिएको छ ।
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले विविधता नै हाम्रो पहिचान र शक्ति रहेको विज्ञप्तिमा उल्लेख छ । सामाजिक सद्भाव, आपसी सम्मान र सहिष्णुता नै समृद्ध नेपाल निर्माणको आधार रहेको भन्दै अध्यक्ष कट्टेलले यस संवेदनशील समयमा संयमता अपनाउन तथा अफवाह र घृणा फैलाउने गतिविधिबाट टाढै रहन सबैलाई आग्रह गरेका छन् । उनले सबै प्रकारका असहमतिलाई संवाद, आपसी समझदारी तथा कानूनी प्रकृयामार्फत समाधान खोज्न पनि अनुरोध गरेका छन् ।
शान्ति, सामाजिक सद्भाव र स्थिरता विना आर्थिक विकास, लगानी प्रवर्द्धन, पर्यटन तथा उद्यमशीलता विकास सम्भव नहुने अध्यक्ष कट्टेलले उल्लेख गरेका छन् । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टर सधैँ शान्ति, सहिष्णुता, समावेशिता र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष कट्टेलले धर्मभन्दा माथि मानवता र विभाजन भन्दा माथि राष्ट्रिय एकतालाई राखेर अघि बढ्न सबैलाई अपिल गरेका छन् ।


संगालोखबर 













