
विराटनगर । सामाजिक एकता र धार्मिक सहिष्णुतालाई मजबुत बनाउने उद्देश्यले मोरङको विराटनगरमा शुक्रबार ‘सद्भाव र्याली’ आयोजना गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले आज मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । हालैका केही घटनाक्रमले सदियौंदेखि कायम रहेको हिन्दु र मुस्लिम समुदायबीचको सामाजिक एकता र धार्मिक सद्भावमा खलल पुर्याउन खोजेको निष्कर्ष निकाल्दै बैठकले त्यसको कडा निन्दा गरेको छ ।
सामाजिक र धार्मिक सद्भाव कायम गराउन तथा शान्ति सुरक्षालाई थप मजबुत बनाउन सबै पक्षले सुरक्षा निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले शुक्रबार आयोजना गरिने सद्भाव र्यालीमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था र सर्वसाधारणको उत्साहजनक सहभागिता रहने जानकारी दिए ।
सर्वदलीय बैठकमा सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, धार्मिक संघ–संगठनका प्रतिनिधिहरू, उद्योगी–व्यवसायी र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

संगालोखबर 













