सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । संखुवासभाको खाँदबारी नगरपालिका स्थित तुम्लिङटारका महिलाहरू लोप हुँदै गएको नौमती पञ्चेबाजा संरक्षणमा जुटेका छन् । उनीहरू आमा समूह नै गठन गरेर पञ्चेबाजा संरक्षणमा लागि परेका हुन् ।

विभिन्न धार्मिक कार्य, विवाह, व्रतबन्ध र अन्य समारोहमा महिलाहरूको समूहले पञ्चेबाजा बजाइरहेका छन् । खाँदबारी नगरपालिका वडा नम्बर ९ को कार्यालयसँग उनीहरूले बाजा माग गरेका थिए ।

Advertisement

पछिल्लो समय संस्कार, संस्कृतिसँगै पञ्चेबाजा लोप हुँदै गएको अवस्थामा यसको संरक्षणमा जुटेको स्थानीय कुमारी मगरले बताइन् । ‘पहिला-पहिला पुरुषहरूले मात्रै बाजा बजाउने चलन थियो’, उनले भनिन्, ‘महिलाहरूले पनि सीप सिकेर बाजाको संरक्षण साथै आत्मनिर्भर बन्न सक्छन् भनेर हामी लागि परेका हौँ ।’

पञ्चेबाजा बजाउनका लागि थप तालिमको आवश्यकता रहेको तुम्लिङटारकी स्थानीय नरकुमारी कुमालले बताइन् । ‘अहिले सिक्ने चरणमै छौँ । सामान्य बजाउँदै आएका छौं’, उनले भनिन्, ‘थप तालिमको आवश्यकता छ । तालिमपछि माग अनुसार शुल्क लिएर हामी पञ्चेबाजा बजाउन जान सक्षम हुने छौँ र जाने छौँ ।’

हिन्दु धर्ममा निकै प्रचलित पञ्चेबाजा केही समययता गाउँघरमा अपवादको रूपमा मात्र देख्न पाइन्छ । युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा पञ्चेबाजा लोप हुँदै गएको हो ।

खाँदबारी नगरपालिका-९ का वडाध्यक्ष विमलराज गौतमले संस्कार, संस्कृतिको जगेर्ना गर्न लोप हुँदै गएको पञ्चेबाजा संरक्षणलाई प्राथमिकता दिएको बताए । ‘उहाँहरूको माग अनुसार वडाले पञ्चेबाजा वितरण गरेको हो’, उनले भने, ‘उहाँहरूले माग गरे पश्चात् नगरपालिकाले खरिद गरेर वडाले हस्तान्तरण गरेको छ ।’

तीन लाख रुपैयाँ विनियोजित बजेटबाट पञ्चेबाजा र पोशाक वितरण गरिएको वडाध्यक्ष गौतमले बताए । ‘उहाँहरूले आफैँले पनि बजाउने गर्नुभएको छ’, उनले थपे, ‘तर अझ प्रभावकारी बनाउन आउने बजेटबाट दक्ष जनशक्ति ल्याएर एक महिने तालिम दिने वडाको योजना छ ।’

सहर बजारमा त परको कुरा भयो तर गाउँघरमा समेत नौमति पञ्चेबाजा लोपोन्मुख हुन लागेको छ । पञ्चेबाजा एकल जातीले मात्र बजाउने गरेता पनि अहिले यसलाई आदिवासी, ब्राह्मण र क्षेत्री लगायतले मौलिक रुपमा बजाउने गर्दछन् ।

विगतमा टुक्का र कथालाई पञ्चेबाजामा उतार्ने पुरानै मार्मिकतालाई निरन्तरता दिन र संरक्षण गर्न वडा कार्यालयले राम्रो कामको थालनी गरेको भन्दै स्थानीय हर्षित छन् । स्थानीयहरू महिलाहरू पनि यसको संरक्षणमा सक्रिय भएर लागेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!