
विराटनगर । नेपालमा फेरि सक्रिय पश्चिमी वायु प्रणाली भित्रिन लागेको मौसमविद्हरूले बताएका छन् । यस प्रणालीको प्रभावले देशभर मध्यमदेखि भारी वर्षा हुनुका साथै मौसम चिसिने अनुमान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पश्चिमी वायुले उत्तरतर्फको चिसो हावा नेपालतर्फ ल्याउने भएकाले यस साताभर वर्षासँगै जाडो महसुस हुन सक्छ । उनले वैशाख २८ गते रातिदेखि देशभर उल्लेख्य वर्षाको सम्भावना रहेको जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव कायम छ । साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाले पनि मौसम प्रभावित बनाइरहेको छ । यही कारण देशका विभिन्न भागमा बादल लाग्ने र वर्षा हुने क्रम जारी रहेको विभागले जनाएको छ ।
विभागका अनुसार वैशाख २८ गते दिउँसो हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक/दुई स्थानमा वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
त्यसैगरी वैशाख २९ गते दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा अन्य पहाडी भूभाग र तराईका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ । राति कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा अन्य भूभागका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
मौसमविद्हरूका अनुसार प्रि-मनसुन अवधिमा भइरहने यस्तो वर्षाका कारण गर्मीयाममा समेत चिसो महसुस हुने अवस्था बनेको छ ।

संगालोखबर 














