संगालोखबर


काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी डेमो बैठकमा यसबारे छलफल भएको हो ।

पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा संगठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन मोडलबारे विस्तृत छलफल भएको छ ।

Advertisement

बैठकमा अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण, नयाँ सदस्यता प्रवेश तथा सम्पूर्ण अभिलेख व्यवस्थापनलाई डिजिटल बनाउने प्रस्ताव अघि सारिएको हो ।

बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्त्वपूर्ण कदम भएको बताए ।

संगठन विभागका संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले बैठकमा पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य रहेको जानकारी दिए ।

उनले संगठनलाई केन्द्रीय तहदेखि वडा तहसम्म एकीकृत डिजिटल अभिलेखीकरण प्रणालीमा लैजानुपर्ने आवश्यकता औँल्याए । संगठन विभागका अनुसार अब एमालेको सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गरिनेछ ।

यसलाई सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै पालिकामा एकसाथ लागू गर्ने तयारी गरिएको छ । त्यसैगरी प्रत्येक पालिकामा भौतिक उपस्थितिमै सदस्यता सम्बन्धी सहजीकरण गरिने, पार्टीका कामसँग जोडेर सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

संगठन विभागका संयोजक ढकालका अनुसार तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!