
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा खोला उत्खननको समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वैशाख १५ गते ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको उत्खनन कार्यको समाचार संकलनका लागि पत्रकारहरू पुगेका थिए ।
सो क्रममा पत्रकारहरू डुमरलाल मेहता, मोहन ढकाल, सन्तोष मेहता, नगेन्द्र खड्का, प्रवेश तिम्सिना, ब्रम्हदेव महतो र दीपेन्द्रकुमार साहलाई पुनः आएमा ज्यान मार्ने धम्की दिइएको महासङ्घको मोरङ शाखाले जनाएको छ ।

महासंघका अनुसार उक्त गाउँपालिकाका अध्यक्ष ननोनारायण माझीले समेत पत्रकारहरूलाई धम्क्याएको शाखाको भनाइ छ । सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गरिरहेका पत्रकारमाथि अपनाइएको यस्तो शैलीलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भनेको छ ।
महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई ज्यान लिने धम्की दिनेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ । साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र पत्रकारलाई निर्वाध एवं सुरक्षित पत्रकारिता गर्ने वातावरण निर्माणका लागि महासङ्घले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
यस्तै महासङ्घ कोशी प्रदेशले समितिले पनि विज्ञप्ति निकाल्दै प्रेस स्वतन्त्रतामाथि भएको धम्कीपूर्ण व्यवहारप्रति घोर भर्त्सना गरेको छ । महासचिव हिमाकुमारी चेम्जोङद्वारा जारी विज्ञप्तिमा दोषी उपर कडा कारबाहीको माग गरिएको छ ।


संगालोखबर 























