
विराटनगर । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । मन्त्रीस्तरको निर्णयअनुसार अन्तर प्रदेशस्तरीय यात्रुवाहक तथा ढुवानी सवारीमा ५ प्रतिशत भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका निर्देशक मणि भुसालका अनुसार मन्त्रीको निर्देशनमा नयाँ भाडादर लागू गरिएको हो । भाडा वृद्धि हुनुको मुख्य कारण डिजेलको मूल्यवृद्धि हो । यसअघि प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेको डिजेलको औसत मूल्य अहिले २३५ रुपैयाँ ८३ पैसा पुगेको छ, जुन करिब ३०.४१ प्रतिशत वृद्धि हो ।
यसअघि गत चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो । त्यतिबेला यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी मालबाहकमा २१.६८ प्रतिशत र तराई मालबाहकमा १५.७५ प्रतिशत भाडा बढाइएको थियो । त्यसपछि इन्धनको मूल्य दुई पटक बढेपछि व्यवसायीहरूले पुनः भाडा समायोजनको माग गर्दै आएका थिए ।

संगालोखबर 























