
काठमाडौं । नेपालमा नयाँ वर्ष विसं २०८३ आज औपचारिक रूपमा प्रारम्भ भएको छ । देशभर उत्साह, उमंग र नयाँ आशाका साथ नयाँ वर्ष मनाइँदैछ ।
वैशाख १ गतेलाई नेपालीहरूले वर्षको पहिलो दिनका रूपमा लिँदै एकआपसमा शुभकामना आदानप्रदान गर्ने, विगतको समीक्षा गर्ने र भविष्यका लागि नयाँ संकल्प गर्ने गर्छन् ।
नयाँ वर्षलाई पात्रो फेरिने दिन मात्रै नभएर सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि नयाँ सुरुआतको प्रतीकका रूपमा लिने गरिन्छ ।
पुराना अनुभवबाट सिक्दै नयाँ लक्ष्य तय गर्ने अवसरका रूपमा यस दिनलाई विशेष महत्व दिइन्छ । बिहानैदेखि मानिसहरू स्नान गरेर घरआँगन सफा गर्ने, नयाँ कपडा लगाउने र मठमन्दिरमा पुगेर पूजाआराधना गर्ने चलन छ । काठमाडौंसहित देशका प्रमुख धार्मिक स्थलहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको देखिन्छ ।
नेपालमा प्रचलित विक्रम संवत् विश्वका सबैभन्दा पुराना पात्रो प्रणालीहरूमध्ये एक मानिन्छ । सूर्यको गतिमा आधारित भएकाले यसलाई वैज्ञानिक र शाश्वत संवत्का रूपमा पनि व्याख्या गरिन्छ ।
नयाँ वर्षकै दिन सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले वैशाख संक्रान्ति वा मेष संक्रान्तिका रूपमा समेत मनाइन्छ । खगोलशास्त्रीय दृष्टिले पनि यो दिनलाई विशेष महत्वका साथ हेरिन्छ । किनभने सूर्यको यो परिवर्तनले ऋतुचक्रमा नयाँ चरणको सुरुआत जनाउँछ ।
धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार वैशाख १ गते मानिसहरूले वर्षभरिका सफलताहरूको स्मरण गर्दै असफलताबाट पाठ सिक्ने प्रयास गर्छन् ।
धेरैले यही दिन व्यक्तिगत, पारिवारिक र पेसागत जीवनका लागि नयाँ लक्ष्य निर्धारण गर्दै विभिन्न संकल्प गर्ने गर्दछन् । विशेष गरी विद्यार्थी, व्यवसायी र कर्मचारी वर्गमा नयाँ योजना बनाउने प्रवृत्ति देखिन्छ ।

संगालोखबर 























