
प्रश्न गर्छु तमाम ती
बाँचेका जिन्दगीसँग
आखिर निष्कर्ष
त
म असफल हुनुमा…
जवाफदेही मेरै अहंकार रहेछ
मेरो शत्रु मेरै अन्तर्मन रहेछ
जब आकाशको गर्भ चिरेर…
मेघले कानमा गर्जन्छ
तब
बद्लामा झरीसँग क्रोधित हुन्छु
झरीको चुटाईसँग क्रोधित हुन्छु
एक सर्काे चुरोटसँगै
उडाउँछु अधुरो सपनाहरू
ज्वालामुखीको आवरणमा
गोला आक्रोशको बारुदिय धुवाँ जस्तै
थाहा होला नी !
जसरी चियाको वास्तविक स्वाद
गिलासको पिँधमा हुन्छ
त्यसरी नै
जीवनको वास्तविक खुसी
जितको क्षणमा हुन्छन्
आफ्नै पराजित मानसिकताले
सम्भावित ताज पनि
लुटिएको बेला…
टक्क अडिएको हुन्छ मेरो लक्ष्यहरू
कुनै चोकमा उभिएको सालिक झैँ…
याद राख्नुहोस् महोदय !
एउटा बाजलाई आकाश चुम्न
जमिन देखि कावा लगातार खानै पर्छ
अनि
झर्न पनि
जसरी नदीको बेगले ढुङ्गाहरू समेत
धारिलो हुन्छन्
चिप्लो हुन्छन्
आकारीत हुन्छ्न
त्यसरी नै
पाइलै पिच्छे लागेको ठेसले
अपूर्ण भगीरथ तपस्या मेरो
लालकिल्लामा विजयको झण्डा फहराउन चाहन्छ
गर्व लाग्छ जब
नेपथ्यको पर्दा पछाडि
धूर्त सकुनीहरू
आफ्नै बाउको हाडले बनेका
पासा फ्याँक्दै छन्
मेरो नामोनिशान मेटाउने
द्युत बोकेर
आखिर
जति काटे पनि वृक्षको हाँगा
अझै झागिएर जान्छन्
फैलिएर जान्छन्
परिणामतः शब्दको अदृश्य वायुमण्डलमा
निर्धक्क उड्दै छन्
चम्किला वायुपंखी घोडाहरू
पुष्पक विमानहरू
र अन्तरिक्ष यानहरू
ओहो !
कलमले कोरिएका पानाले बनेका
साहित्यिक सपनाको नक्षत्र माथि
शब्दको खेलाडी
विराटनगर





















