
धनकुटा । धनकुटा बजारबाट सुनको सिक्री लुट्ने सिन्धुलीका तीन जना युवाहरू पेसेवर लुटेरा रहेको पत्ता लागेको छ । धनकुटामा सिक्री लुटेको भोलिपल्ट धरानमा पक्राउ परेका उनीहरूको साथमा लुटिएको सिक्री मात्र नभई अरु पनि धेरै गहनाहरू फेला परेपछि उनीहरु पेसेवर लुटेरा रहेको पत्ता लागेको हो ।
गत शुक्रवार धनकुटाको सहिदभूमि-१ की ४० वर्षीय विष्णुकुमारी राई धनकुटा बजारमा लुटिएकी थिइन् । उनलाई प्रलोभनमा पारी १ तोला २ आना सुनको सिक्री लिएर भागेका तीन जना शनिवार राती धरानको एक होटलबाट पक्राउ परे । सीसीटीभी फुटेज र फोन लोकेसनको आधारमा पछ्याएको प्रहरीले घटनामा संलग्न सिन्धुलीको दुधौली-६ का ३० वर्षीय धनबहादुर भनिने दानवहादुर तामाङ, दुधौली-१२ का ३३ वर्षीय सन्तोष भनिने प्रेमलाल घिसिङ र दुधौली १० का ३८ वर्षीय राजु तामाङलाई पक्राउ गर्न सफल भयो ।
उनीहरूको साथमा लुटिएको सिक्रीसहित अरु पनि थुप्रै सुनका गहना फेला परेपछि उनीहरु पेसेवर लुटेरा रहेको पत्ता लागेको धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । उनीहरूको साथमा लकेटसहितको सुनको सिक्री १ थान, लकेट विनाको सिक्री १ थान, सिक्रीको लकेट मात्र १ थान, तिहलरी १ थान, कानको बेरुवा कुण्डल २ थान र बेरुवा औँठी १ थान फेला परेको छ ।
प्रहरीका अनुसार उनीहरूले यसअघि उदयपुरमा पनि वृद्ध महिलाको कानको बेरुवा लुटेको पत्ता लागेको छ । उनीहरूले अन्य कुन कुन ठाउँमा लुटपाट गरेका छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । धरानबाट समातिएका उनीहरूलाई धनकुटा ल्याइएको छ । आज जिल्ला अदालत धनकुटामा डाका मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


रबिन कटेल/संगालोखबर 














