संगालोखबर
फाइल तस्बिर

विराटनगर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार आगामी तीन दिन देशका विभिन्न भागमा प्रतिकूल मौसमको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आज सूचना जारी गर्दै प्राधिकरणले शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपात हुने देखिएको जनाएको छ ।

Advertisement

मौसममा आउने यो परिवर्तनसँगै शुक्रबारदेखि नै दाङ र नेपालगन्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा र पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रहरूमा करिब ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावाहुरी चल्ने सम्भावना छ ।

प्रि-मनसुनको अवधि भएकाले यस्तो तीव्र हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरका छानाहरू उड्ने र विद्युत एवं सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम उच्च रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला केही दिनमा हावाहुरीका कारण मानवीय क्षति समेत भइसकेको सन्दर्भमा प्राधिकरणले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ ।

विपद् जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले सम्बन्धित क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन र विशेष काम नपरी यात्रामा ननिस्कन आग्रह गरेको छ ।

हावाहुरी चलेका बेला घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू निभाउन र सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न प्राधिकरणले भनेको छ । साथै भीडभाडमा भएको अवस्थामा नआत्तिन र भागदौड नगरी विस्तारै सुरक्षित स्थानतर्फ जान भनिएको छ ।

यसका साथै हावाहुरी चलेको समयमा कमजोर संरचना, अग्ला रूख, टेलिफोन तथा बिजुलीका खम्बा र तार मुनि नबस्न प्राधिकरणले विशेष आग्रह गरेको छ । बिजुलीको तार लत्रिएको अवस्थामा त्यसलाई नछुन र सो समयमा विद्युतीय उपकरणहरू प्रयोग नगर्न समेत सचेत गराइएको छ ।

जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने नियमित सूचनाहरूलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन उपसचिव रामबहादुर केसीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!