संगालोखबर


काठमाडौं । महानायक राजेश हमालको नाम दुरुपयोग गरेर भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्रका नाममा १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।

सोही प्रकरणमा आर.जे. ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर) लाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगका अनुसार राजेश हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । त्यसमध्ये १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको थियो ।  तर उक्त कार्यमा सार्वजनिक खरिद ऐन र नियमावलीको गम्भीर उल्लङ्घन गरिएको पाइएको अख्तियारको ठहर छ ।

बिना प्रतिस्पर्धा र प्रक्रिया मिचेर सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैंक ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको अनुसन्धानमा खुलेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!