संगालोखबर
फाइल तस्बिर

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आज देशको मध्य र पूर्वी क्षेत्रमा मौसमको बढी प्रभाव पर्ने देखिएको छ ।

आज कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

त्यसैगरी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा हुने महाशाखाको अनुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशको तराईका एक/दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ ।

आज राति पनि कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको क्रम जारी रहने देखिन्छ ।

भोलि शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ । साथै कोशीको तराई तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी भूभागमा पनि छिटपुट वर्षाको सम्भावना छ ।

पर्सि आइतबार भने देशका हिमाली भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका धेरै स्थानमा मौसम सक्रिय रहनेछ भने बाँकी प्रदेशका पहाडी भेगमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहनेछ ।

हिजो पनि मध्य र पूर्वी भेगका धेरै ठाउँमा वर्षा भएको थियो, जसका कारण वायुमण्डलमा रहेको प्रदूषण केही मात्रामा कम भएको छ । मेघगर्जन तथा चट्याङ्गको समेत जोखिम रहेकाले दैनिक क्रियाकलाप र यात्रा गर्दा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!