
विराटनगर । ४ महिनाअघि गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बनेको छ । प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेश प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ दोस्रो भएको छ ।
श्रम संस्कृतिले समानुपातिकमा पनि अब ४ सिट पाउने सम्भावना छ । कोशीमा श्रम संस्कृतिले समानुपातिक मतमा नेपाली काँग्रेस र नेकपा एमालेलाई पनि पछि पारेको छ ।
कोशी प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ८ लाख ५३ हजार १ सय ८४ मत ल्याएर पहिलो हुँदा श्रम संस्कृति पार्टी २ लाख ९२ हजार ४९ मत पाएर दोस्रो भएको छ । श्रम संस्कृतिले देशभरबाट ३ लाख ८५ हजार ६ सय ७९ मत पाएको छ ।
कोशीमा समानुपातिकतर्फ काँग्रेसले २ लाख ९० हजार ५६२ मत ल्याउँदा एमालेले २ लाख ८८ हजार १ सय ८६ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जम्मा ९७ हजार ६ सय ७९ मत ल्याएको छ ।
कोशीका २८ क्षेत्रमध्ये रास्वपाले १७, काँग्रेसले ४, एमालेले ४ र श्रम संस्कृतिले ३ सिट जितेको छ ।

संगालोखबर 















