
विराटनगर । नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले चुनाव हारजितले सामाजिक सेवामा कुनै प्रकारको असर नगर्ने बताएका छन् । नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी) ले विगतमा झैँ आगामी दिनमा पनि नागरिकहरूको सेवा र सहयोगका कार्यहरूलाई देशभर निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
पछिल्लो समय बजारमा विभिन्न किसिमका भ्रम र हल्लाहरू फैलाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शर्माले सामाजिक उत्तरदायित्वबाट पछि नहट्ने स्पष्ट पारेका हुन् ।
विगतदेखि नै यी संस्थाहरूले विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै उपचारमा विशेष छुटदेखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको उनले उल्लेख गरेका छन् ।
देशका विभिन्न स्थान, सम्बन्धित वडा तथा जिल्लाहरूमा उचित प्रक्रिया र आधिकारिक माध्यममार्फत यस्ता सेवाहरू उपलब्ध गराइँदै आएको कुरालाई उनले पुनः दोहोर्याएका छन् । नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्याउने प्रयास सधैँ निरन्तर रहने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।
चुनावमा हुने हार वा जित र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै उनले समाज र राष्ट्रप्रतिको दायित्वलाई आत्मसात गर्दै आगामी दिनमा पनि देशभर यस्ता सेवा र सहयोगका कार्यहरू जारी रहने उल्लेख गरेका छन् ।
उनले बजारमा फैलाइएका कुनै पनि हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थाका प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधिअनुसार सेवा लिन सबैमा आग्रह गरेका छन् ।

संगालोखबर 















