संगालोखबर


विराटनगर । अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदाताका लागि निर्वाचन आयोगले विशेष सहजता प्रदान गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज विराटनगरमा पत्रकारहरूसँगको भेटघाटमा उनीहरूलाई विशेष सहजता प्रदान गरिएको बताएका हुन् ।

मतदान केन्द्रसम्म पुग्न उनीहरूलाई सवारी साधनको पासको झन्झट हटाइएको उनले बताए । उनीहरूले एकजना सहयोगी लिएर सवारी साधनमा सिधै मतदान केन्द्रसम्म जान पाउनेछन् घिमिरेले जानकारी दिए । यस्तै उनीहरूले लाइन नबसी मतदान गर्न पाउनेछन् ।

मतदानका लागि मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एक आधिकारिक परिचयपत्र आवश्यक पर्ने उनले बताए ।

यसपटक प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मात्र मतपत्र र मतपेटिका भएकाले मतगणना विगतको तुलनामा निकै छिटो हुने उनको भनाइ छ । मतदान सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरिनेछ र सर्वदलीय सहमतिपछि तुरुन्तै गणना सुरु गरिने उनले बताए ।

यस्तै खारेजीमा परेका उम्मेदवारहरूको चिन्हमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गर्दै उनले त्यस्तो मत स्वतः बदर हुने उल्लेख गरे । यसका लागि सम्बन्धित क्षेत्रका मतदातालाई सचेत बनाउन निर्वाचन अधिकृत र राजनीतिक दलहरूलाई सूचना प्रवाह गरिएको उनले बताए ।

मौन अवधिमा आचारसंहिता उल्लंघनका घटनाहरू बढेको भन्दै घिमिरेले आयोगले कडा निगरानी गरिरहेको बताए । ‘आचारसंहिता विपरीतका कार्य गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको सजाय हुन सक्छ’, उनले भने, ‘कानुनी रूपमा उम्मेदवारी खारेज नभइसकेको अवस्थामा पक्राउ परेका उम्मेदवारले चुनाव लड्न र विजयी हुन सक्छन् । तर उनीहरूमाथिको कानुनी अनुसन्धान भने जारी रहनेछ ।’

प्रतिनिधि सभा सदस्य निर्वाचन भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । निर्धारित समयभित्र मतदानस्थलभित्र पुगेका सबै मतदाताले मतदान गर्न पाउने उनले बताए । उनले बदर मत कम गर्नका लागि सबैले होसियारीपूर्वक चिन्ह लगाउन आग्रह गरे । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!