
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सकिएको छ । मतपत्र छपाइको काम सकिएपछि आजबाट ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गर्ने तयारी थालिएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सकिएको हो । प्रत्यक्षतर्फ २ करोड ३ लाख मतपत्र छपाइ कार्य भएको छ ।
केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ । २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्याउने गरी काम भइरहेको केन्द्रले जनाएको छ ।

संगालोखबर 














