
विराटनगर । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको मृत्यु पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या चार पुगेको हो ।
माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानी विस्फोट भएको थियो । उक्त घटनामा खोटाङकै बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको यसअघि नै मृत्यु पुष्टि भइसकेको छ ।
विष्फोटमा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै र नरबहादुरको उपचारको क्रममा माघ २३ गते मृत्यु भएको हो । पूर्णबहादुर र सुरेन्द्र दाजुभाइ हुन् ।
बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङगी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् । उनीहरू रोजगारी खोज्दै गत पुस ३ गते मेघालय गएका थिए ।

संगालोखबर 














