
विराटनगर । भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोट हुँदा मा खोटाङको बराहपोखरी गाउँपालिका-१ का दुई दाजुभाइको मृत्यु भएको छ ।
बिहीबार भएको विस्फोटमा बराहपोखरीस्थित सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपांगी मगर र २४ वर्षीय सुरेन्द्र खपांगी मगरको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय शिवकुमार श्रेष्ठका अनुसार बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपांगी मगर, कर्णबहादुर खपांगी मगर, नरबहादुर खपांगी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।
सातजनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको जानकारी गराएका हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सो विस्फोटमा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

संगालोखबर 














