संगालोखबर
फाइल तस्बिर : मोहन ढकाल/संगालोखबर

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि आजदेखि औपचारिक रूपमा नेपाली सेना परिचालन गरिएको छ ।

निर्वाचन हुन १ महिना बाँकी रहँदा सरकारले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार सेना मैदानमा उतारेको हो । निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार ७ सय २७ जना सैनिक परिचालन गरिएको छ ।

निर्वाचन अवधिभर हाल सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका सार्वजनिक भवन, कारागार, विमानस्थललगायत संवेदनशील संरचनाको जिम्मेवारीसमेत सेनाले सम्हाल्नेछ । गृह मन्त्रालयका अनुसार निर्वाचनमा ४ सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी कुल ३ लाख ३७ हजार ९ सय ११ सुरक्षाकर्मी परिचालन हुनेछन् ।

जसमा नेपाली सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७५ हजार ५ सय ९७, निर्वाचन प्रहरी १ लाख ३० हजार ९ सय ८०, सशस्त्र प्रहरी बलका ३४ हजार ५ सय ७६ र सशस्त्रअन्तर्गत १५ हजार १ सय १० निर्वाचन प्रहरी रहनेछन् । थप १ हजार ९ सय २१ जना गुप्तचरलाई पनि सुरक्षामा खटाइनेछ ।

एउटै मतदानस्थलमा औसत १३ मतदान केन्द्र रहने र त्यहाँ प्रहरी तथा निर्वाचन प्रहरी गरी करिब ८० जनासम्म खटाउने तयारी छ । मतपेटिकाको सुरक्षाका लागि पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी रहनेछन् भने तेस्रो घेरामा नेपाली सेना र सशस्त्र प्रहरी बल तैनाथ हुनेछ । यसपटक सेनाले मतपेटिकाको प्रत्यक्ष सुरक्षा जिम्मेवारी पनि लिनेछ ।

निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनमा देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले मतदान गर्न पाउने छन् । ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् । हिमाली जिल्लामा कम मतदाता भए पनि आवश्यकताअनुसार मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!