सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू आ–आफ्नो एजेण्डा र प्रतिवद्धतासहित मतदाताहरूसँग भेटघाटमा व्यस्त छन् ।

धनकुटामा दलका १४ र स्वतन्त्र ३ गरी १७ जना उम्मेदवार चुनावी मैदान छन् । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र राई चौथो पटक धनकुटाको चुनावी मैदानमा छन् । उनीबाहेकका सबै उम्मेदवार पहिलो पटक चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली काँग्रेसकाका दिनेश राई पहिलो पटक चुनावी मैदानमा छन् । धनकुटामा राजेन्द्र र दिनेशबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । जेनजी पुस्तासहित युवा जगतले नयाँ अनुहार प्रति चासो राखिरहँदा एमालेका राई आफू चुनाव जित्नेमा ढुक्क रहेको बताउँछन् ।

उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएका थिए । त्यसयता २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा राई तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका सुनिल बहादुर थापासँग पराजित भएका थिए ।

यस्तै २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा राईले राष्ट्रिय प्रजातन्त्र पार्टीकै सुनिल थापालाई हराएका थिए । उक्त निर्वाचनमा एमालेका राईलाई तत्कालीन नेकपा माओवादी केन्द्रको साथ थियो भने थापालाई नेपाली काँग्रेस, जनता समाजवादी लगायतको साथ थियो । २०७९ सालको निर्वाचनमा राईले उनै थापालाई पराजित गरेका थिए । थापा त्यसबेला नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए ।

त्यो बेला भर्खरै काँग्रेस बनेका थापालाई गठबन्धनका तर्फबट तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी लगायतको साथ थियो ।

आगामी फागुन २१ हुने निर्वाचनमा भने विभिन्न दल र स्वतन्त्र उम्मेदवार एक्लाएक्लै चुनावी मैदानमा रहेका कारण धनकुटाको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ । काँग्रेसकाका दिनेश राई धनकुटामा कृषि र पर्यटनमा राम्रो सम्भावना भएकाको र त्यसको विकास गर्न आफूले जित्नुपर्ने दावी गर्छन् । जेनजी र युवा पुस्ताको ढुकढुकी भएका कारण पनि आफू चुनाव जित्नेमा ढुक्क रहेको उनको भनाइ छ ।

२०७९ को चुनावमा एमालेका राईले १ हजार ३ सय ९७ मतान्तरले नेपाली काँग्रेसका सुनिलबहादुर थापालाई पराजित गरेका थिए । राईले ३० हजार १ सय १ मत ल्याउँदा थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।

०७४ को आम निर्वाचनमा राईले राप्रपाबाट उम्मेदवार बनेका उनै थापालाई १० हजार ४ सय ५९ भारी मतान्तरले पराजित गरेका थिए । राईले ३७ हजार ३ सय ३३ ल्याएर निर्वाचित हुँदा थापाले २६ हजार ८ सय ७४ मत ल्याएका थिए ।

दुई पटक विजयी भएका बेला धनकुटामा सुरु गरेका विभिन्न काम पूरा गर्न जनताले तेस्रो पटक जिताउनेमा आफू ढुक्क रहेको एमालेका राईले बताए । गत निर्वाचनमा एमाले बाहेक अन्य दल गठबन्धनसहित चुनावी मैदानमा होमिएका थिए ।

१ लाख १८ हजार ४ सय २५ मतदाता रहेको धनकुटामा सबै उम्मेदवारहरू आफूले जित्ने दाबी गर्छन् । धनकुटाबाट एमालेका राजेन्द्र राई, काँग्रेसका दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल, नेपाल मजदुर किसान पार्टीबाट उत्तम सामकर्मी र श्रम संस्कृति पार्टी सानबहादुर राई उम्मेदवार छन् ।

यस्तै आम जनता पार्टीबाट प्रेम बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बालकुमारी ताम्ली, जनता समाजवादी पार्टीबाट निशान राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन कुमार राई र जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बु उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट (रास्वपा) बाट दिनेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बिभत्सु थापा, राष्ट्रिय परिवर्तन पार्टीबाट सालिक राम राई, मंगोल नेशनल अर्गनाईजेशनबाट सागर राई उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट मनकुमार योञ्जन, जीतेन्द्र राई, र लाक्पा तामाङ छन् ।

अघिल्लो चुनावको परिणा सँग तुलना नगर्न भन्दै धनकुटामा यसपटक युवाको पालो आएको भन्दै काँग्रेस, रास्वपा र राप्रपाका उम्मेदवारहरूले यसपटक आफ्नो विजय हुने पालो आएको बताउन थालेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले भने २०६४ मा तत्कालीन माओवादीको जस्तै आफ्नो पक्षमा माहोल रहेको दाबी गर्दै आएको छ । एक निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदानस्थलमा १ सय ६६ वटा मतदान केन्द्र कायम भएका छन् ।

यस्तै कारागार र निर्वाचनमा नखटिएका कर्मचारीको लागि १/१ गरी २ वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । अस्थायी मतदान केन्द्रमा समानुपातिकको मात्रै मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!