
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले बुझाएको बन्दसूचीको प्रारम्भिक छानबिनपछि ७६ जना उम्मेदवारको नाम सूचीबाट हटाएको छ ।
उम्मेदवारविरुद्ध परेका उजुरी, कानुनी योग्यता नपुगेको अवस्था र राजनीतिक दलबाट प्राप्त थप विवरणका आधारमा नाम हटाउने निर्णय गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार विभिन्न कानुनी तथा प्रक्रियागत कमजोरी देखिएका उम्मेदवारहरू बन्दसूचीमा कायम रहन नसक्ने निष्कर्ष निकालिएको हो ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जनाको नाम हटाइएको छ भने प्रदेशसभाको बन्दसूचीमा नाम रहेकाहरू समानुपातिक संघीय सूचीमा दोहोरिएको भन्दै २५ जनालाई हटाइएको छ ।
यसैगरी आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा नामै नभएका १ र मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नपरेका २ जनाको नाम पनि बन्दसूचीबाट हटाइएको छ ।
महिलाको कोटामा पुरुष उम्मेदवारको नाम पेस गरिएको १ जना उम्मेदवार पनि अयोग्य ठहरिएका छन् । त्यस्तै सम्बन्धित राजनीतिक दल आफैँले नाम हटाउन आयोगलाई अनुरोध गरेका १० जना र अन्य विविध कारण देखाइएका २ जनाको नाम पनि सूचीबाट हटाइएको आयोगले जनाएको छ ।

संगालोखबर 













