सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन धनकुटामा जिल्ला निर्वाचन व्यवस्थापन समितिले प्रचार-प्रसारका गतिविधिमा कडाइ सुरु गरेको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय धनकुटाले संयुक्त रूपमा आयोजना गरेको बैठकमा प्रचार-प्रसारका गतिविधिमा कडाइ सुरु गरेको जानकारी गराइएको हो  ।

धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले प्रचार-प्रसारमा स्वदेशी नम्बर प्लेट भएका सवारीसाधन मात्रै प्रयोग गर्न पाइने बताए । मुख्य निर्वाचन अधिकृतको अनुमति लिएर अधिकतम २ वटा गाडी र दुर्गम क्षेत्रमा ४ वटा घोडासम्म प्रयोग गर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रचारमा प्रयोग हुने सवारीसाधन प्रयोगदेखि खर्च व्यवस्थापनलगयायतका आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी नै खारेज हुन सक्ने चेतावनी दिँदै प्रचार-प्रसारका गतिविधिमा कडाइ गरिएको उनको भनाइ छ ।

धार्मिक आधारमा मतदाता सङ्गठित गर्न, राष्ट्रिय झन्डाको दुरुपयोग गर्न तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउन समेत रोक लगाइएको छ । लाइक र भ्यूज बढाउने नाममा मिथ्या सूचना फैलाउँदा सुरक्षा चुनौती बढ्ने भएकाले त्यस्ता गतिविधि गर्नेलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गरिने जनाइएको छ ।

यस्तै चुनावी प्रचार कार्यक्रम, कोणसभा साथै आमसभाबाट भएको खर्च १५ दिनभित्र आयोगमा बुझाउनुपर्नेछ । प्रत्यक्षतर्फका उम्मेदवारले अधिकतम ३१ लाख र समानुपातिकतर्फका उम्मेदवारले दुई लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ ।

२५ हजारभन्दा माथिको कारोबार बैंक खातामार्फत गर्नुपर्ने र निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न समेत बैठकबाट आग्रह गरिएको छ । आचारसंहिता उल्लङ्घन गरे जिल्ला आचारसंहिता अनुगमन समितिले एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी खारेजीसम्मको कारबाही गर्न सक्ने चेतावनी दिइएको छ ।

छलफलमा राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिले आफ्ना गुनासा र सुझाव राखेका थिए । एमालेका अर्जुन राईले प्रचार सामग्रीको मापदण्डबारे स्पष्टता माग गरे । यस्तै नेपाली काँग्रेसका मनोहर नारायण श्रेष्ठले सबै उम्मेदवारले साझा एजेन्डा बनाएर जिल्लाका मुद्दा उठाउनुपर्ने धारणा राखेका थिए ।

कम्युनिस्ट पार्टीका ओमप्रकाश निरौलाले सहिदभूमिमा कम्बल वितरण भइरहेको भन्दै रोक्न माग गरे । माओवादीका विशाल सीले सामाजिक सञ्जालमा पैसासँग भोट जोड्ने सन्देशप्रति असन्तुष्टि जनाएका थिए । स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले करार कर्मचारी नियुक्तिमा आचारसंहिता उल्लङ्घन भएको बताए ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले देखिएका समस्या समाधानका लागि आयोग सधैं समन्वयमा रहने उल्लेख गरे । दलबलसहित घरदैलो र प्रचारप्रसारमा तत्काल ननिस्कन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले फागुन ४ गतेपछि मात्रै त्यस्ता गतिविधि गर्न पाइने जानकारी गराएका छन् ।

साथै स्थानीय तहबाट हुने वितरणमुखी कार्यक्रममा समेत रोक लगाइने उनले बताए । जिल्ला प्रशासन र निर्वाचन कार्यालयले सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्दै स्वच्छ र शान्तिपूर्णरूपमा निर्वाचनलाई सफल बनाउन सहयोग गर्न अपिल गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!