
विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा बसेको बैठकले साहित्य, कला, समाजसेवा, पत्रकारिता, युवा प्रतिभा तथा बालप्रतिभालगायत विभिन्न क्षेत्रका ९ वटा पुरस्कार घोषणा गरेको हो ।
घोषित पुरस्कारअनुसार अन्जु कार्कीद्वारा स्थापित दुई लाख रुपैयाँ राशिसहितको जगतबन्धु–अन्जु कार्की चेतना विशेष सम्मान कलाश्री विनोद खनाल (बटियामारी, आसाम) लाई प्रदान गरिने छ ।
त्यसैगरी हरिभक्त, खगेन्द्र र दिनेश सिटौलाद्वारा आफ्ना बुवा–आमाको सम्झनामा स्थापित एक लाख रुपैयाँ राशीको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना सम्मान साहित्यकार डा. राजेन्द्र विमल (जनकपुर) लाई समर्पण गरिने भएको छ ।
ललितकला क्षेत्रमा योगदान पुर्याएका कलाकार मुकेश मल्ल (काठमाडौं) ले गंगा सुवेदीद्वारा स्थापित ५१ हजार रुपैयाँ राशिको भूपेन्द्रप्रसाद–शोभा रिजाल ललितकला चेतना सम्मान प्राप्त गर्नेछन् ।
समाजसेवातर्फ समाजसेवी दीनबन्धु गोयलद्वारा आफ्ना दाजुको सम्झनामा स्थापित ५१ हजार रुपैयाँसहितको ओमप्रकाश गोयल समाजसेवा सम्मान सामाजिक अभियन्ता डा. ओममूर्ति अनिल (महोत्तरी) लाई प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिइन् ।
धार्मिक तथा मानवीय सेवाका क्षेत्रमा क्रियाशील परमार्थ सिंघिया आरती तथा धार्मिक जागरण, विराटनगर (मोरङ) लाई समाजसेवी देवेनरा मुन्दडा परिवारद्वारा स्थापित बालकिशन–नर्वदादेवी सनातन मानवीय धर्मसंस्कृति सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
सरला चापागाईंले सासु–ससुराको नाममा स्थापना गरेको ५१ हजार रुपैयाँ राशिको डा. नरेन्द्र–भवानीशंकर–योगमाया चापागाईं युवाप्रतिभा चेतना सम्मान युवाप्रतिभा एन्जिला तुम्बापो सुब्बालाई समर्पण गरिने छ ।
दिनेश सुवेदीद्वारा आफ्नो भाइको सम्झनामा स्थापना गरेको ५१ हजार रुपैयाँ राशिको नरेश सुवेदी पत्रकारिता चेतना सम्मान वरिष्ठ पत्रकार मातृका पौडेल (रामेछाप) लाई प्रदान गरिने भएको छ ।
यसैगरी मञ्जु सत्यालद्वारा स्थापित २१ हजार रुपैयाँ राशिको केदारनाथ–मञ्जु सत्याल बालप्रतिभा चेतना सम्मान मोरङका बालप्रतिभा बबिता राजवंशी र मिसराना खातुनलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको अध्यक्ष सुवेदीले बताइन् ।
प्रतिष्ठानले मासिक कार्यक्रमका साथै चेतना सन्देश पत्रिका प्रकाशित गर्दै आएको छ । घोषित पुरस्कार यही माघ २४ गते शनिबार विराटनगरमा विशेष समारोहका बीच समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

संगालोखबर 













