
काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको ४३ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात (ब्रेन ह्यामरेज) का कारण उपचाररत सिटौलाको आज दिउँसो १२ः४५ बजे काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको चुनावी प्रचारका क्रममा अछाम पुगेका सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भएर ढलेका थिए ।
अछाममा प्रारम्भिक उपचारपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । चिकित्सकका अनुसार उनलाई ‘एन्युरिज्म रप्चर’ (मस्तिष्कको नसा फुट्ने समस्या) भएको थियो ।
सिटौलाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आजै दिउँसो २ः३० देखि ३ः०० बजेसम्म चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिने कार्यक्रम छ । त्यसपछि आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

संगालोखबर 













