
विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा ३ सय ४५ मत खसेको छ । आज विराटनगर भएको मतदानमा ८७ जना प्रदेश सभा सदस्य र २ सय ५८ जना स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेका हुन् ।
राष्ट्रिय सभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कोशीमा कूल ९२ जना प्रदेश सांसद र २ सय ६७ जना स्थानीय तहका प्रतिनिधि मतदाता कायम थिए । तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि केही जनप्रतिनिधिले राजीनामा दिएका कारण मतदाताको सङ्ख्या कम भएको हो ।
राजीनामा दिनेहरूमा राप्रपाका प्रदेश सांसद भक्तिप्रसाद सिटौला, रङ्गेलीका नगरप्रमुख दिलीप बगडिया र धरानका नगरप्रमुख हर्क साम्पाङसहित सात जना छन् ।
कोशी प्रदेशमा रिक्त हुने ३ पदमध्ये अन्य समूहबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी महिला र दलित कोटाका लागि मतदान भएको हो ।

संगालोखबर 













