
काठमाडौं । नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् ।
यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो । यो व्यवस्था लागू भएसँगै अबदेखि कुनै पनि व्यक्तिले एक पटकमा बैंकमा गएर ५ लाख रुपैयाँ भन्दा बढी नगद निकाल्न पाउने छैनन् ।
त्यस्तै कुनै सामानको खरिदबिक्री गर्दा पनि सो सीमाभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन । धेरै नगद कारोबार हुँदा अवैध कारोबारको सम्भावना रहने भन्दै यो निर्णय गरिएको हो । यो निर्णयले डिजिटल तथा अनलाइन कारोबारलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
सरकारले निर्णय गरेको यो नियम बैंक तथा वित्तीय संस्था मात्रै नभएर सबै प्रकारका वित्तीय संस्था वा अन्य व्यावसायिक संस्थाको हकमा समेत लागूहुनेछ । तर केही विशेष अवस्थामा भने यो नियम लागूनहुने जनाइएको छ ।

संगालोखबर 













