
काठमाडौं । मुलुकको प्रदेश संरचना हटाउन र सनातन संवैधानिक राजसंस्था स्थापनाको आह्वान गर्दै ५० लाख एसएमएस पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन घर भई गाडी व्यवसायमा संलग्न ३४ वर्षीय सेढाईंलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति काठमाडौँको हात्तीसारबाट पक्राउ गरेको हो ।
उनले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ मार्फत ठूलो संख्यामा सामूहिक सन्देश पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका सेढाईंले ५० लाख मानिसलाई म्यासेज पठाएको कुरा स्वीकार गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनले पठाएको म्यासेजमा नेपालका समस्याहरूको स्थायी समाधानका लागि प्रदेश संरचना खारेज गरी प्रत्यक्ष निर्वाचित संरचनासहितको राजसंस्था स्थापना गर्नुपर्ने उल्लेख थियो । उनले पुस ३० गते दिउँसो १२ बजे बालुवाटारस्थित निषेधित क्षेत्रमा अनिश्चितकालका लागि उपस्थित हुन समेत सर्वसाधारणलाई आह्वान गरेका थिए ।
प्रहरीका अनुसार म्यासेजमार्फत जनतालाई आतङ्कित पारेको र निषेधित क्षेत्रमा प्रदर्शनका लागि उक्साएको आरोपमा उनीमाथि सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइने भएको छ ।

संगालोखबर 













