
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले संस्थापन पक्षले नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने र विशेष महाधिवेशन पक्षधरहरूले पार्टी एकताका लागि एक कदम पछाडि हट्नुपर्ने बताएका छन् ।
उनले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै पार्टीलाई फुट्नबाट जोगाउन दुबै पक्ष संयम हुनुपर्ने बताएका हुन् । उनले एकताको आह्वान गर्दा कारबाहीको प्रयास गरे कार्यकर्ताहरू जुर्मुराउनुपर्ने धारणा व्यक्त गरे ।
‘एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि प्रयास अस्वीकार्य छ’, उनले भने, ‘यस्तो अवस्था आयो भने जिम्मेवार कार्यकर्ताहरू जुर्मुराउनुपर्छ र त्यो निकास अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ ।’
उनले काँग्रेस संकटमा परे देश संकटमा पर्ने उल्लेख गर्दै सबै नेता कार्यकर्तालाई उच्च जिम्मेवारी र संयमताका साथ अघि बढ्न आह्वान गरेका छन् ।
‘विषम परिस्थितिमा नेपाली काँग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकताबद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नपर्छ’, उनले भने, ‘नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ । साथै विशेष महाधिवेशन पक्षधरहरूले पनि पार्टी एकताका लागि एक कदम पछाडि हट्नुपर्छ ।’

संगालोखबर 













