
माध्यमिक शिक्षा परीक्षा (एसईई) विगत केही वर्षदेखि चैत महिनाको पहिलो हप्ताबाट सुरु भएको पाइन्छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा पनि चैतको पहिलो हप्तादेखि सुरु हुने अनौपचारिक जानकारी प्राप्त भइसकेको छ ।
२०७२ सालदेखि माध्यमिक शिक्षा परीक्षाको नामले परिचित छ । यो कक्षा १० को वार्षिक परीक्षा हो । २०७२ सालभन्दा अगाडि एसएलसी नामले कक्षा १० को परीक्षा हुने गरेको थियो । इतिहास हेर्दा १९९० सालदेखि एसएलसी सुरु भएको पाइन्छ ।
सुरुमा कलकत्ता बोर्डबाट मान्यता प्राप्त परीक्षा थियो । विक्रम सम्वत् २०१६ सालमा नेपालमै परीक्षा बोर्डको स्थापना भएको हो । फलामे ढोकाका नामले परिचित कक्षा १० को वार्षिक परीक्षा २०७१ सालसम्म डिभिजन प्रणालीमा आधारित थियो ।
२०७२ सालदेखि ग्रेडिङ प्रणालीमा यो परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरूमा पढाइको चाप बढेको छ । विषयगत शिक्षकहरूले पनि फागुन महिनाभित्रै सम्पूर्ण कोर्स पूरा गरी सक्नुपर्ने अवस्था छ ।
विगतमा कक्षा १० को वार्षीक परीक्षामा केन्द्रहरूमा थुप्रै बेथितिहरू देखिन्थे । ग्रेडिङ प्रणाली सुरु भएपश्चात थोरै भएपनि बेथितिहरू कम हुँदै गएका छन् । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भविष्यलाई हेरेर कक्षा १० को वार्षिक परीक्षा एसईईलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आह्वान गरिसकेको छ ।
विद्यार्थीहरूले परीक्षा भन्ने बित्तिकै डर, तनाव र मानसिक चाप लिनु हुँदैन । परीक्षा एउटा सामान्य प्रणाली हो । मूल्याङ्कनबाट परीक्षार्थीको भविष्य उज्ज्वल बनाउन सकिन्छ । हाम्रो समाज र अभिभावकहरूले पनि माध्यमिक शिक्षा परीक्षालाई हाउगुजी सम्झिनु हुँदैन ।
यसलाई अन्य कक्षा जस्तो वार्षिक परीक्षा सम्झिनुपर्छ । विद्यार्थीहरूले वर्तमानको डिजिटल अवस्थामा कण्ठस्त गर्ने प्रवृत्तिलाई कम गर्दै बुझाई र सिकाइमा ध्यान दिनुपर्ने हुन्छ । यस्तै सिर्जनात्मक सोच विकास गर्न आवश्यक छ ।
सीप र व्यावहारिक ज्ञान वर्तमान अवस्थाको आवश्यकता हो । परीक्षाको समयमा मात्र पढ्दा परीक्षामुखी पढाइ भएकाले शैक्षिक सत्र सुरुदेखि नै पढ्ने बानीको विकास गर्नु आवश्यक छ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा आन्तरिक र बाह्य परीक्षा बीचको असन्तुलन देखिएको केही शिक्षाविद्हरूको भनाइ छ ।
थुप्रै अभिभावक र विद्यार्थीहरूमा समेत ग्रेडिङ प्रणालीको विषयमा स्पष्ट बुझाई नभएको अवस्था देखिन्छ । व्यावहारिक सीप र सही मूल्याङ्कन नहुँदा थुप्रै विद्यार्थीहरू ग्रेडिङको समस्यामा परेका हुन्छन् । विषय विज्ञ शिक्षकहरूले पनि पाठ्यक्रम भन्दा बाहिरका प्रश्नहरू कहिलेकाहीँ समावेश गरेको देखिन्छ ।
पाठ्यक्रम र ग्रिड अनुसारको प्रश्नपत्र वैज्ञानिक र व्यावहारिक हो । हाम्रो जस्तो सानो मुलुकमा गाउँ र शहर बीचको अन्तरलाई ख्याल गरिएको छैन र सहरका विद्यार्थी सरह गाउँका विद्यार्थीले पनि एकै प्रकारको प्रश्नको उत्तर लेख्नुपर्ने हुन्छ । सहरमा सुविधा सम्पन्न विद्यालयहरू छन्, विषय शिक्षकहरू प्रशस्तै मात्रामा छन् । सहरका विद्यार्थीहरूको स्तर गाउँका विद्यार्थीको तुलनामा उच्च देखिन्छ ।
विषय विज्ञहरूले प्रश्नपत्र निर्माण गर्दा विशेषगरी गाउँ र सहरलाई समेटी सबैले प्रश्न उत्तर गर्न सक्ने खालका प्रश्नहरू समावेश गरी प्रश्न निर्माण आवश्यक ठानिन्छ । सहरका नाम चलेका विद्यालयहरूमा विषय शिक्षक, प्रयोगशाला, शैक्षिक सामग्री, आइसिटी ल्याब सबै सुविधाहरू प्राप्त छन् ।
तुलनात्मक रूपमा सहरका विद्यार्थीलाई गाउँका विद्यार्थीभन्दा बढी सुविधा र अवसर प्राप्त भएका छन् । एककाइसौँ शताब्दीमा डिजिटल युगमा समेत हिमाली र पहाडी क्षेत्रमा कक्षा १० को वार्षिक परीक्षा दिन अझै पनि विद्यार्थीहरू डेरा गरी बस्नुपर्ने अवस्था छ । कतै-कतै दुई/तीन घण्टाको दूरीमा परीक्षा केन्द्रहरू तोकिएका छन् ।
परीक्षा केन्द्रको दूरीलाई सरकारले ध्यान दिनैपर्ने हुन्छ । राष्ट्रिय परीक्षा बोर्ड तथा शिक्षा विकास तथा समन्वय एकाइहरू वर्तमान कक्षा १० को परीक्षाका लागि रातदिन खटिरहेको अवस्था छ ।
राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माका अनुसार कक्षा १० को वार्षिक परीक्षालाई मर्यादित, भयरहित तथा शान्त वातावरणमा सम्पन्न गर्न राष्ट्रिय परीक्षा बोर्ड शिक्षा विकास तथा समन्वय इकाई स्थानीय तह विद्यालय अभिभावक सबैले वातावरण बनाएर परीक्षा सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ ।
विगतमा परीक्षा सञ्चालनमा प्रशासनिक तथा प्राविधिक कमजोरीहरू देखिएकाले थुप्रै अभिभावक तथा विद्यार्थीहरू राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय भक्तपुर पुगेर सच्याइएको इतिहास ताजै छन् ।
अबका दिनहरूमा कमीकमजोरीलाई न्यूनीकरण गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ । एसईईको परीक्षा नतिजा सार्वजनिक पश्चात विगतमा रिचेक र रिटोटलिङ गर्ने विद्यार्थीको संख्या निकै देखिएको थियो ।
परीक्षा नियन्त्रण कार्यालय वा विषय शिक्षकहरूको कमी कमजोरीका कारण विद्यार्थीको भविष्य अन्धकार बनाउनु हुँदैन । माध्यमिक शिक्षा परीक्षा २०८२ लाई शान्त वातावरणमा भयरहित तथा स्वच्छ र निष्पक्ष तरिकाले सम्पन्न गर्न पहल कदमी सबै क्षेत्रबाट हुन जरुरी छ ।















