
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मोरङबाट ४३ जनाको नाम सिफारिस गरेको छ । आइतबार सम्पन्न बैठकले ६ वटै निर्वाचन क्षेत्रबाट ४३ जनाको नाम सिफारिस गरेको हो ।
सबै क्षेत्रबाट ३ देखि १६ जनासम्मको सूची जिल्ला कमिटीमा पठाइएको हो । नेता विनोद ढकालको नाम क्षेत्र नम्बर १, ४ र ६ गरी तीनवटा क्षेत्रबाट समावेश गरिएको छ ।
क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडा र विनोद ढकालसहित ६ जना, क्षेत्र नम्बर २ बाट ऋषिकेश पोखरेल र दिलीप अग्रवालसहित ३ जना र क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकाल र केदारप्रसाद गुरागाईँसहित १६ जनाको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर ४ बाट जीवन घिमिरे र विनोद ढकालसहित ९ जना, क्षेत्र नम्बर ५ बाट उद्धव पोखरेलसहित ६ जना र क्षेत्र नम्बर ६ बाट लालबाबु पण्डित, विनोद ढकाल र पर्शुराम बस्नेतसहित ७ जनाको नाम सिफारिस गरिएको छ ।
क्षेत्रीय कमिटीले सिफारिस गरेका नामहरू जिल्ला र प्रदेश कमिटी हुँदै अन्तिम निर्णयका लागि केन्द्रमा पठाइने एमाले मोरङले जनाएको छ ।

संगालोखबर 
















