
धनकुटा । जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापनाका लागि हालसम्म ७ लाख सहयोग जुटेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाले आज पत्रकार सम्मेलन गर्दै ब्लड बैंक स्थापनाका लागि हालसम्म ७ लाख १ हजार रुपैयाँ सहयोग संकलन भएको जानकारी दिएको हो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानबाट २ लाख, एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद् जापानका उपाध्यक्ष रोविन प्रसाद शेरचनबाट १ लाख र एनआरएनए राष्ट्रिय समन्वय परिषद् किर्गिस्तानका पूर्व अध्यक्ष डा. किसान भण्डारीबाट २ लाख सहयोग प्राप्त भएको रेडक्रस धनकुटाले जनाएको छ ।
यस्तै एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनबाट ७१ हजार, एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतबाट ५५ हजार, एसियान्यासिफिक उपक्षेत्रीय संयोजक दीपक कँडेलबाट ५० हजार र एनआरएनए राष्ट्रिय समन्वय परिषद् कंगोबाट २५ हजार सहयोग प्राप्त भएको छ ।
रेडक्रस धनकुटाले ब्लड बैंक स्थापनाका लागि सहयोग गरिदिन जिल्लाका स्थानीय तह, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संस्था र धनकुटावासीलाई आह्वान गरेको छ । ब्लड बैंक स्थापनाका लागि सहयोग गर्ने दाताहरूलाई रेडक्रस धनकुटाले धन्यवाद ज्ञापन गरेको छ ।

संगालोखबर 
















