
विराटनगर । मोरङबाट पछिल्लो डेढ दशकमा ६ सय ७१ जना बालिका बेपत्ता भएका छन् । सन् २०१० देखि २०२५ सम्मको अवधिमा ६ सय ७१ बालिका बेपत्ता भएकामा १ सय ७ जना फेला परेका माइती नेपाल विराटनगरले जनाएको छ ।
सन् २०२५ मा मानव बेचविखन तथा ओसारपसार विरुद्ध माइती नेपाल विराटनगरले गरेको कार्यबारे आज पत्रकारहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले सन् २०२५ मा मात्रै मोरङबाट ४७ बालिका बेपत्ता भएका जानकारी दिए । जसमध्ये १३ जना फेला परेका छन् । मोरङमा पछिल्लो ९ वर्षपछि धेरै संख्यामा बालिका बेपत्ता भएका हुन् ।
पोखरेलका अनुसार १५ वर्षको अवधिमा सबैभन्दा धेरै सन् २०१६ मा ७० जना बालिका बेपत्ता थिए । सबैभन्दा कम सन् २०२२ मा एक जना बालिका बेपत्ता भएको उनले बताए ।
माइती नेपालको तथ्याङ्क अनुसार १५ वर्षको अवधिमा सीमानाकाबाट १ हजार ६ सय ५४ जनाको उद्धार गरिएको छ । सो अवधिमा जबरजस्ती करणीका ५३ वटा निवेदन आएका माइती नेपाल विराटनगरले जनाएको छ ।
यस्तै मानव बेचविखनका १५ वटा मुद्दा दर्ता भएका छन् । पछिल्लो ५ वर्षदेखि मानव बेचविखन मुद्दा दर्ताको घटना शून्य अवस्थामा रहेको उनले जानकारी दिए ।
सन् २०२५ मा मात्रै मोरङसहित १९ जिल्लाका १ सय ८ जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको संयोजक पोखरेलले बताए । उद्धार गरिएकामध्ये ७६ जना १८ वर्षमाथि र ३२ जना १८ वर्षभन्दा माथिका छन् ।
रानी-जोगवनी सीमा नाकाबाट उद्धार गरिएकाहरू मोरङ, सुनसरी, झापा, उदयपुर सप्तरी, पाँचथर, धनकुटा, तेह्रथुम, इलाम, ताप्लेजुङ, ओखलढुंगा, नुवाकोट, भक्तपुर, खोटाङ, अर्घाखाँची, संखुवासभा, दाङ र सिरहाका हुन् ।
पछिल्लो एक वर्षको अवधिमा भारतबाट २ बालिकाको उद्धार गरिएको तथा घरेलु हिंसाका घटनाबाट ५४ जना पीडित भएका मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिइन् । उनका अनुसार सन् २०२५ मा उद्धार गरिएका १ सय ८ जना मध्ये ४१ जना कामको खोजीका लागि भारत जान लागेका थिए । यस्तै १९ जना साथी आफन्तहरूको लहैलहैमा र १ जना घुम्न भनी हिँडेका थिए ।
यसैगरी ११ जना समाजिक सञ्जालमार्फत प्रलोभनमा परेर, २१ जना प्रेम विवाहको प्रलोभनमा, ९ जना पारिवारिक बेमेलका कारण र ६ जना नेटवर्किङ व्यापारको प्रलोभनमा हिँडेका माइती नेपालले जनाएको छ ।
माइती नेपालले मानव बेचविखन तथा नियन्त्रणका लागि स्थानीय तहमा मानव बेचविखन विरुद्धको समिति पनि गठन गरेको छ । जहदा गाउँपालिका, ग्रामथान गाउँपालिका तथा विराटनगर महानगरपालिकाको वडा नम्बर ८, १३, १५ र १६ मा सञ्जाल समुह गठन गरिएको शर्माले जानकारी दिइन् । पारिवारिक गरीबी, सामाजिक दवाव र डिजिटल सम्पर्क कायम रहेको कारण पनि पुनः जोखिममा पर्ने गरेको पाइएको उनको भनाइ थियो ।

संगालोखबर 
















