
विराटनगर । आज गुरुङ समुदायले परम्परागत र मौलिक उत्सवका रूपमा तमु ल्होसार पर्व मनाउँदै छन् । तमु ल्होसारको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने यस पर्वलाई गुरुङ समुदायले आफ्नो सांस्कृतिक पहिचान, सामाजिक एकता र जीवनदर्शनसँग गाँसेर मनाउने गर्छन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिएको हो । यही अर्थमा तमु ल्होसार गुरुङ समुदायका लागि नयाँ वर्षको सुरुआत पनि हो ।
तमु ल्होसार सूर्यको गति र प्रकृतिसँग जोडिएको पर्व मानिन्छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस महिनाबाट सूर्यको तापक्रम क्रमशः बढ्दै जाने विश्वास गरिन्छ ।
यही प्राकृतिक चक्रसँग जोडेर पुस १५ गते तमु ल्होसार मनाउने गरिन्छ । पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो रात हुने र यसपछि दिन लम्बिँदै तथा रात छोटिँदै जाने भएकाले पनि यस दिनको विशेष महत्त्व रहेको छ ।
यसै प्राकृतिक चक्रअनुसार गुरुङ समुदायपछि तामाङ र शेर्पा समुदायले पनि आआफ्नो मौलिक परम्परा अनुसार ल्होसार मनाउने गर्छन् । तामाङ समुदायले माघमा सोनाम ल्होसार र शेर्पा समुदायले फागुनमा ग्याल्पो ल्होसार मनाउने परम्परा छ ।

संगालोखबर 
















