सन्तोष सुवेदी/संगालोखबर
फाइल तस्बिर

धनकुटा । धनकुटामा खोल्सीको कालो सुन अर्थात अलैँची उत्पादन बढेको छ । पछिल्लो समय कृषकले अन्य बाली मासेर करेसाबारीमा पनि अलैँची लगाउँन थालेपछी उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको छ ।

गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैँची खेती भएकोमा यो आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैँची खेती भएको छ । धनकुटामा गत आर्थिक वर्ष ४० दशमलव ३ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यो वर्ष बढेर ४२ दशमलव ६४ मेट्रिक टन पुगेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी दिए ।

Advertisement

ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र अलैँची खेती गरिदै आएकोमा पछिल्लो समय कृषकले अन्य बाली छाडेर करेसाबारीमा पनि अलैँची रोप्न थालेको उनको भनाइ छ ।

विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिक रूपमा उत्पादनमा सुधार हुँदै गएको छ । दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकले विजु बिरुवा रोप्ने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

विशेष गरी अलैँची मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको छ । धनकुटाका सात वटै स्थानीय तहमा आंशिकरूपमा कृषकले अलैँची लगाएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची समुद्र सतहबाट करिब ७ सयदेखि २ हजार मिटरको उचाइसम्म हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!